
जावेद अख्तर र मुफ्तीको ईश्वर–बहसबारे सोसल मिडियामा जति नै चर्चा भए तापनि यसले “ईश्वरको अस्तित्वबारे चर्चा नगर” भन्ने वाल्ट विटम्यानको कविता पङ्क्तिलाई पुष्टि गरेको छ। एउटा यस्तो पक्ष छ, जो तर्कको दृष्टिकोणमा बलियो छ, अर्को पक्ष तर्कद्वारा पुष्टि गर्नै सकिंदैन।

भारतको चर्चित ललनटप मिडियाले केही दिनअघि जावेद अख्तर र मुफ्ती शमाइल बीच “ईश्वर छन् कि छैनन् (Does god exist?)” भन्ने शीर्षकमा बहस आयोजना गरेको थियो। जावेद अख्तर हिन्दुस्तानका प्रसिद्ध शायर, लेखक एवम् गीतकार हुन् भने मुफ्ती शमाइल इस्लामिक स्कलर। लगभग दुई घण्टा चलेको उक्त बहसको मूल प्रश्न ओझेलमा परे पनि रोचकता भने अरू थपिएको थियो। जावेद अख्तरले आमजनमा आस्था आरोपित गरेर संसारभर धर्मले गरेको अन्याय र रक्तपातको विरोध गरे भने मुफ्ती शमाइलले ईश्वरलाई पारलौकिक तत्वको रूपमा व्याख्या गरे।
यो बहसको कुरा गर्नु भन्दा अगाडि सर्वप्रथम त यस शीर्षकमा आधारित भएर केही कुरा व्यक्त गर्न आवश्यक मानिन्छ। के ईश्वर अस्तित्वमा छन् त ? यो वादविवाद अहिलेको मात्र होइन। दर्शनशास्त्रमा यी प्रश्नहरूले महत्वपूर्ण स्थान लिएका छन्। कसै कसैले मान्ने गरेका छन्— यो प्रश्न नै दर्शनको केन्द्रीय प्रश्न हो, जसबाट दर्शनशास्त्रमा चेतना र पदार्थको उपशाखा बन्दछन्। तर यो मान्यता आफैंमा अधुरो, अपुरो छ। जब हामी पूर्वीय दर्शनको कुरा गर्छौं, तब यो द्वैधता अपर्याप्त हुन जान्छ। पूर्वीय दर्शनशास्त्रले मान्दछ कि सर्जक र सृजना पृथक् तत्वहरू होइनन्। हामीले भिन्न भिन्न प्रयोजनका लागि प्रयोग गरे तापनि योग, ध्यान आदिको अर्थ आत्मा र परमात्माको द्वैधभावलाई तिरोहित गर्नु हुन जान्छ। त्यसकारण यो विषय आफैंमा त्यस उत्कर्ष विन्दुको व्याख्यासम्म पुग्न सक्तैन।




















