
काठमाडौँ । अहिले युट्युब स्क्रोल गर्दा अस्वाभाविक तर आकर्षक लाग्ने भिडिओ प्रशस्त देखिन थालेका छन् । उच्च गुणस्तरका दृश्य, फिल्मका पात्र जस्तै देखिने चरित्र र नाटकीय संवाद भएका यी भिडिओ वास्तवमा मानव निर्मित नभई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) बाट तयार पारिएका हुन् । यो प्रवृत्तिलाई अचेल इन्टरनेटको भाषामा ‘एआई स्लोप’ भन्न थालिएको छ ।

यसै सन्दर्भमा गरिएको एक विश्वव्यापी अध्ययनले भारतको एउटा एआई च्यानलले आम्दानी र दर्शकको संख्यामा ठुला-ठुला क्रियटरलाई समेत पछि पारेको देखाएको छ ।
‘बन्दर अपना दोस्त’ नामक उक्त भारतीय युट्युब च्यानल अहिले विश्वभरका ‘एआई-वन्ली’ (पूर्ण रूपमा एआई प्रयोग गर्ने) च्यानलमध्ये अग्रस्थानमा देखिएको छ । भिडिओ एडिटिङ प्लेटफर्म निर्माता कम्पनी कापविङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस च्यानलले हालसम्म २.५ अर्बभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ । अत्यधिक भ्युजका कारण यसको वार्षिक आम्दानी करिब ४२ लाख ५१ हजार ५०० अमेरिकी डलर (नेपाली ६१ करोड रुपैयाँभन्दा बढी) हुने अनुमान गरिएको छ । यो रकम कुनै पनि सामान्य जागिर वा व्यवसायबाट जीवनभर कमाउन सकिने रकमभन्दा कयौँ गुणा धेरै हो ।
यो च्यानलले परम्परागत शैलीमा भिडिओ खिच्ने गर्दैन । च्यानलमा रहेका सबै ६१८ भिडिओ एआई टुलको प्रयोग गरेर बनाइएका छन् । यसको मुख्य पात्र ‘बोल्टु बन्दर’ नामक एउटा यथार्थपरक देखिने एनिमेटेड बाँदर हो जसलाई मानिसजस्तै जीवनशैलीमा प्रस्तुत गरिएको छ । च्यानलको विवरण अनुसार यसले बोल्टु बाँदरको जीवनमार्फत मनोरञ्जन, भावना र यथार्थपरक कथावाचन प्रस्तुत गर्ने गर्दछ । दर्शकलाई आकर्षित गर्न यसले हास्य, नाटकीय र हृदयस्पर्शी मानवीय परिस्थितिलाई सिनेमाटिक शैलीमा देखाउने गरेको छ ।

यस विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । कतिपयले पर्दा पछाडिको मेहनत र व्यवस्थापनको प्रशंसा गरेका छन् । एआईले भिडिओ बनाए पनि त्यसको योजना बनाउन, सम्पादन गर्न र दर्शकको रुचि अनुसार व्यवस्थापन गर्न मानवीय दिमागकै आवश्यकता पर्ने उनीको तर्क छ । अर्कोतर्फ केही प्रयोगकर्ताले भने व्यङ्ग्य गर्दै मानिसले वर्षभरि कडा मिहिनेत गरेर थोरै कमाइरहेको समयमा एआई भिडिओले करोडौँ छापिरहेकोमा अचम्म व्यक्त गरेका छन् ।

कापविङका अनुसार नयाँ युट्युब फिडका पहिलो ५०० भिडिओ विश्लेषण गर्दा २१ प्रतिशत एआई निर्मित र ३३ प्रतिशत ‘ब्रेनरोट’ (अजीब र दोहोरिने खालका) शैलीका भिडिओ पाइएका छन् । यसको अर्थ युट्युब फिडको आधाभन्दा बढी हिस्सा अहिले एआई र भाइरल हुने उद्देश्यले मात्र बनाइएका सामग्रीले ओगटेको छ ।

















